कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

लोकपथ
245
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङस्थित नेपाल–चीन सिमानाका कोरोलाको स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

महासंघको गण्डकी प्रदेश समिति तथा जिल्लास्तरीय उद्योग वाणिज्य संघका नेतृत्वसँगै गरिएको नाका निरीक्षणपछि अध्यक्ष ढकालले कालीगण्डकी करिडोर पूरा भएपछि कोरोलाले नेपाल, चीन र भारतलाई जोड्ने छोटो मार्गको रूपमा त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधि विस्तारमा योगदान गर्ने भएकाले यसप्रति सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए ।

उनका अनुसार हालै सञ्चालनमा आएको भन्सार कार्यालयले १२ दिनमै करिब १ अर्ब ४० करोड राजस्व संकलन गरेको तथ्यांकले पनि यो नाकाको महत्व स्पष्ट पारेको छ । त्यसैले भन्सार तथा अध्यागमन सेवा सहज बनाउन आवश्यक पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन र स्थायी कार्यालय स्थापना अनिवार्य रहेको उनले बताए ।

अध्यक्ष ढकालले भने, ‘ल्हासाबाट रसुवासम्म पुग्न दुई दिन लाग्ने भए पनि कोरोलासम्म एकै दिनमा पुग्न सकिने भएकाले चीनका पर्यटकलाई नेपाल भित्र्याउने सहज मार्ग बन्न सक्छ । त्यस्तै मानसरोवर जान चाहने भारतीय तथा नेपाली यात्रुका लागि समेत यो छोटो रुट हुनेछ ।’

उनले नाका आसपास बसोबास तथा सरकारी संरचना निर्माण कठिन हुने देखिएकाले निचुङ क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी दीर्घकालीन कार्यसञ्चालन, बिजुली, पानी र इन्टरनेट जस्ता सेवामा सहजता ल्याउनुपर्ने सुझाव दिए ।

गतवर्ष करिब सात लाख आन्तरिक तथा विदेशी पर्यटक मुस्ताङ पुगेको तथ्यांक प्रस्तुत गर्दै ढकालले मुक्तिनाथ, दामोदरकुण्डलगायत धार्मिक स्थल र मानसरोवर जाने मार्गका कारण यस क्षेत्रलाई अझ आकर्षक बनाउन सकिने बताए । साथै, माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकलाई तोकिएको ५०० अमेरिकी डलर शुल्क अव्यवहारिक भएको भन्दै तत्काल पुनर्विचार गर्न पनि सरकारसँग माग गरे ।

महासंघका तर्फबाट कालीगण्डकी करिडोर छिटो सम्पन्न गर्न र कोरोलालाई व्यवस्थित ढंगले सञ्चालनमा ल्याउन निरन्तर पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र यसका लागि पूर्ण रूपमा सहयोग र प्रतिबद्ध रहन तयार रहेको स्पष्ट पारे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?