काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले असोज २६ गते बस्ने केन्द्रीय समितिले विशेष महाधिवेशनका लागि निर्णय गर्ने विश्वास आफूमा नरहेको बताएका छन् ।
‘अब तुवाँलो फाट्नुपर्छ’ शीर्षकमा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै नेता घिमिरेले केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय हुने आशा गर्न सकिने ठाउँ नदेखिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक विशेषाधिकार हो । हालसम्मका गतिविधि हेर्दा हामीलाई वर्तमान केन्द्रीय कार्य समितिसँग विश्वास र भरोसा छैन । देश, लोकतन्त्र र पार्टी जोगाउन हामी सचेत र गम्भीर छौँ । २६ गते अघि नै हस्ताक्षर दर्ता गराउन जागरूक, सक्रिय र प्रतिबद्ध भएर लागौँ । इतिहासको यस चुनौतीपूर्ण कालखण्डमा हामी नेपाली नागरिक र कांग्रेस सदस्यको भूमिका निर्वाह गर्न नचुकौँ ।’
कांग्रेसको पार्टी विधानमा केन्द्रीय समितिले विशेष महाधिवेशन आवश्यक ठानेमा आह्वान गर्न सकिने व्यवस्था छ । तर केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवाको ८० प्रतिशतभन्दा सदस्यहरू छन् ।
पछिल्ला दिनमा उनको अगुवाइमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन जारी रहेको छ । विशेष महाधिवेशनका लागि कारण खुलाई ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर पेस गरेको अवस्थामा तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ ।
उनले पार्टीका हरेक सदस्यको योगदान र बलिदानको चरम अवमूल्यन गरिएको पनि टिप्पणी गरेका छन् । पार्टीमा मनपरी र स्वेच्छाचारले सीमा नाघेको उल्लेख गर्दै उनले अब सहन नसकिने पनि बताएका छन् ।
उनले लेखेका छन्, ‘यहाँ व्यक्ति वा नेताको मुख ताकेर बस्ने बेला छैन । हाम्रो जीवन कुनै नेता विशेषमा समर्पित छैन । राज्य सञ्चालनको अवसर पाएका हरेक नेताको परीक्षण भइसक्यो । अब बुझ्न, हेर्न, थाहा पाउन र भोग्न केही बाँकी छैन । पार्टीका हरेक सदस्यको योगदान र बलिदानको चरम अवमूल्यन भइसक्यो । मनपरी र स्वेच्छाचारले सीमा नाघ्यो । अब सहन सकिँदैन । आगामी असोज २६ गतेको बैठकले कांग्रेस पुनर्जीवनको ढोका खोल्छ कि खोल्दैन, हेर्न बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया