अर्थमन्त्री खनाल र जापानका राजदूतबिच भेट, के–के भयो छलफल ?

लोकपथ
182
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ।

भेटमा नेपाल जापानबिचको ऐतिहासिक सम्बन्ध, नेपालको हालको राजनीतिक-सामाजिक अवस्था तथा जापानले नेपालको आर्थिक र सामाजिक विकासमा पुर्‍याइरहेको योगदानबारे छलफल भएको छ ।

अर्थमन्त्री खनालले वर्तमान सरकार विशिष्ट परिस्थितिमा गठन भएको भए तापनि तोकिएको समयमा निर्वाचन सम्पन्न गराउने र यस अवधिमा पुनः निर्माण तथा विकासका कार्य निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा निर्माणाधीन नागढुङ्गा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना, निकट भविष्यमा सम्झौता हुन गइरहेका कोटेश्वर चोक सुधार परियोजना र सिन्धुली सडक बाढी प्रभावित आपतकालीन पुनःस्थापना कार्यक्रम लगायतका विविध परियोजनामा जापानको सहयोगबारे पनि कुराकानी भएको छ ।

सो अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह सचिव धनिराम शर्मा समेत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?