लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणमा २८.५० प्रतिशत प्रगति

लोकपथ
161
Shares

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माण कार्यका उल्लेखनीय प्रगति भएको छ । हालसम्म निर्माण कार्य २८.५० प्रतिशत पुगेको काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं युनिकन्सल्ट सेन्टर’ ले जनाएको छ ।

२०७८ पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि सुरु गरिएको निर्माण कार्यलाई ‘जी–टु–जी’ माध्यममार्फत काठमाडौं युनिकन्सल्ट सेन्टरले सुपरीवेक्षण गरिरहेको छ । प्राध्यापकको नेतृत्वमा १६ सदस्यीय टोली खटिएको छ भने निर्माण कम्पनीतर्फबाट १० जना विशेष प्राविधिकसहित करिब २२० जना कामदार दैनिक रूपमा संलग्न छन् ।

भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्शन तथा रेलिगेर सम्मिलित संयुक्त कम्पनीले पाँच वर्षभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि तीन वर्षमै सक्ने लक्ष्यसहित काम गरिरहेको छ । कुनै अवरोध नभए तोकिएको समयअघि नै सम्पन्न हुने विश्वास इन्जिनियर मन्नुप्रसाद चौधरीले व्यक्त गरेका छन् ।

अहिलेसम्म अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्ट निर्माण सम्पन्न भइसकेको छ भने दोस्रो बेसमेन्टको ढलान पनि सकिएको छ । साइट क्लियरेन्सपछि चार महिनामै उल्लेख्य प्रगति भएको बताइएको छ ।

सरकारले दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित कुल लागत करिब आठ अर्ब ९९ करोड रुपैयाँ रहने अनुमान गरेको छ । निर्माणाधीन १२ तलाको भवनमा तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपत्कालीन कक्ष र इनडोर सर्भिस रहनेछन् । माथिल्ला तलामा १,२०० बेडसहित उपचार सुविधा उपलब्ध हुनेछ ।

नयाँ भवनमा ग्यास्ट्रो एन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीसहितका सबै विभागीय सेवा एउटै ठाउँबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । यसले लुम्बिनी प्रदेशका नागरिकलाई उच्चस्तरीय स्वास्थ्य सेवा दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?