पोखरा । हिमालको सुन्दर नजारा, तालतलैया र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय सहर पोखरा अहिले सुनसान छ । सामान्यतया यस याममा विदेशी तथा आन्तरिक पर्यटकले भरिभराउ हुने पोखरा अहिले भने पर्यटकको प्रतीक्षामा छ ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विगतमा ७०–८० प्रतिशतसम्म पुग्ने होटल अकुपेन्सी हाल घटेर १५–२० प्रतिशतमा सीमित भएको छ ।
सेप्टेम्बर महिनामात्रै करिब ४० प्रतिशत बुकिङ रद्द भएको उनले बताए । उनका अनुसार ठूला छ वटा होटलसहित मध्यम र साना होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी लगायत पर्यटनसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न व्यवसायमा असर परेको छ । प्रारम्भिक अनुमानअनुसार करिब रु साढे दुई अर्ब बराबरको क्षति भइसकेको र पोखराको पर्यटन क्षेत्रमा करिब आठ खर्बको लगानी रहेको सुवेदीले जानकारी दिए । यस क्षेत्रबाट करिब १५ हजार मानिसले रोजगारी पाएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले हालैका घटनाले अन्तरराष्ट्रियस्तरमा नकारात्मक सन्देश पुगेको उल्लेख गर्दै नेपालको पर्यटन सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्ड तथा सरोकारवाला निकाय सक्रिय हुनुपर्नेमा जोड दिए ।
यसैबिच, नेपाल पर्यटन बोर्डले ‘आइ एम इन नेपाल नाउ’ ह्यासट्याग अभियान सुरु गरेको छ । बोर्डले ‘रियल–टाइम स्टोरी’हरू उत्पादन गरी सामाजिक सञ्जालमार्फत नेपाल सुरक्षित पर्यटन गन्तव्य भएको सन्देश प्रवाह गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया