विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

लोकपथ
427
Shares

मस्को । रूसको पश्चिमी लेनिनग्राद क्षेत्रअन्तर्गत स्लान्त्सी जिल्लामा विषाक्त रक्सी सेवनका कारण कम्तीमा १९ जनाको ज्यान गएको छ ।

क्षेत्रीय सरकारद्वारा जारी विज्ञप्ति अनुसार, मृतकमध्ये आठ जनाको मृत्यु मिथेनोल विषाक्तता पुष्टि भएको छ । घटनामा संलग्न रहेको आशङ्कामा एक पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको र आवश्यक कानुनी अनुसन्धान अघि बढाएको जनाएको छ ।

रूसमा सस्तो मूल्यमा पाइने घरेलु र अस्वीकृत मदिरा सेवनकै कारण यस्ता घटनाहरू बारम्बार दोहोरिने गरेका छन् । विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर क्षेत्रमा कानुनी मदिरा किन्न नसक्नेहरूले विकल्पको रूपमा यस्ता विषाक्त पदार्थ सेवन गर्ने प्रवृत्ति बढेको बताइन्छ ।

यसअघि सन् २०२३ मा नक्कली साइडर सेवनबाट ५० जनाको मृत्यु भएको थियो भने, २०१६ मा साइबेरियाको इरकुत्स्कमा मिथेनोल मिसिएको ‘बाथ ऑयल’ सेवन गर्दा ६० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए ।

यस्ता घटनापछि कानुन कडा पारिएको भए पनि विषाक्त तथा अवैध मदिराको अवैध बिक्री अझै नियन्त्रणमा आउन सकेको छैन, जसले सार्वजनिक स्वास्थ्यलाई गम्भीर जोखिममा पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?