काठमाडौं । भ्रष्टाचार र बेथितिको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
विरोध कार्यक्रममा राप्रपाका नेता-कार्यकर्ताहरुले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ लेखेको कालो टी–सर्ट लगाएर सडकमा उत्रेका थिए । उनीहरुले भ्रष्टाचारीमाथि कारबाही, प्रदेश खारेजी, राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संविधानको पुनर्लेखन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था लगायतका माग राखेका छन् ।
विरोध प्रदर्शनमा सहभागीहरुले ‘७५ जनाको बलिदान, फेरि यही संविधान’, ‘देशलाई दुर्घटनाबाट जोगाउन नविन समझदारी गर, ‘जेनजीका हत्यारालाई कारबाही गर’, ‘२०४६ सालपछिका उच्च पदमा पुगेका व्यक्तिको सम्पत्ति छानविन गर’ जस्ता प्लेकार्ड पनि बोकेका थिए ।
राप्रपाकी नेतृ खुश्बु ओलीले भनिन्, ‘विविध विकृति अन्त्य गर्न हामी सडकमा आएका हौँ। राजनीतिक दलका नेताहरुले जेनजी आन्दोलन दबाउने प्रयास गरिरहेकाले हामी प्रतिरोधमा छौँ। अन्तरिम सरकारलाई क्रान्तिको भावना विपरित नजाने र सहीदको रगतलाई नजरअन्दाज नगर्न चेतावनी दिन्छौँ ।’
उनले अन्तरिम सरकारले जेनजी आन्दोलनमा दमन गर्ने आदेश दिनेहरुमाथि कारबाही नगरेको र भ्रष्टाचार छानबिनका लागि आयोग गठन नगरेको भन्दै आन्दोलनप्रति सरकार जिम्मेवार रहेको पनि बताए ।
राप्रपाले जेनजी आन्दोलनमा मत्यु भएका परिवार र देशको परिवर्तनको लागि संघर्ष गरेका युवाहरुसँग आफ्नो समर्थन जारी रहने स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया