व्यापारी भन्छन् : ‘सडक अवरुद्ध भइरहे दसैँमा काठमाडौंमा मासुको माग पूरा गर्न सक्दैनौँ’

लोकपथ
266
Shares

काठमाडौं । दसैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा निजी क्षेत्रमार्फत ल्याइएका खसी, बोका र च्याङ्ग्रा बिक्रीका लागि बजारमा राखिएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष सरकारी स्तरबाट खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने निर्णय गरेपछि निजी व्यापारीहरूले बजार आपूर्तिको जिम्मा लिएका हुन् ।

काठमाडौंको टुकुचा खसी बजार, कलंकी खसी बजार, भृकुटीमण्डप र हरिहर भवनस्थित पशु सेवा विभागको चाडपर्व लक्षित बजारमा व्यापारीहरूले विभिन्न जिल्लाबाट ल्याएका खसी–बोकाहरू बिक्रीका लागि राखिएका छन् । धादिङ, नुवाकोट, काभ्रे, दोलखा लगायत देशका ३५ भन्दा बढी जिल्लाबाट खसी–बोका काठमाडौं ल्याइएको छ ।

सरकारी संरचना जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि लिमिटेडले यस वर्ष करिब १५ सय खसी–बोका र ३ सय च्याङ्ग्रा विक्री गर्ने योजना रद्द गरेको हो । तर दसैँमा उपभोक्तालाई सहज बनाउन निजी क्षेत्र सक्रिय बनेको छ । व्यापारीहरूले मूल्यमा ठुलो उतार चढाव नआउने र अघिल्ला वर्षकै दरमा बिक्री गर्ने बताएका छन् ।

कलंकी खसी बजार व्यवस्थापन समितिका जीवनराज खतिवडाका अनुसार, काठमाडौंको माग पूरा गर्न पर्याप्त आपूर्ति गरिने प्रयास भइरहेको छ । तर सडकमा पहिरो र अवरोधका कारण सय भन्दा बढी खसी–बोका बाटोमै मृत भएको र आपूर्ति केही चुनौतीपूर्ण रहेको उनले बताए । गत वर्ष करिब २५ हजार खसी–बोका बिक्री भएकोमा यस वर्ष पनि त्यस्तै माग हुने अनुमान गरिएको छ ।

व्यापारी सन्तोषबहादुर खत्रीका अनुसार, अहिले बजारमा १० हजार भन्दा बढी खसी–बोका उपलब्ध छन् । उनले विगतकै मूल्यमा बिक्री भइरहेको बताए । त्यस्तै बलराम कुँवरले बाटो अवरुद्ध र यातायात सहज नहुँदा आपूर्तिमा कठिनाइ भएको बताए । प्यासेन्जर बसमा खसी–बोका ल्याउन अनुमति नदिँदा थप समस्या भएको उनको भनाइ छ ।

हाल बजारमा जिउँदो खसीको मासु प्रतिकेजी ६७० देखि ७३० रुपैयाँ, बोकाको प्रतिकेजी ६५० देखि ७३० रुपैयाँ र च्याङ्ग्राको प्रतिकेजी १ हजार २४० देखि १ हजार ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

यातायात सहज भए काठमाडौंवासीलाई आपूर्तिमा समस्या नपर्ने व्यापारीहरूले बताएका छन् । तर सडक अवरुद्ध भए माग अनुसार खसी बोका पुर्‍याउन कठिन हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?