राजनीतिक दबाबमा रोकिएका अनुसन्धान अघि बढ्छ : गृहमन्त्री अर्याल

लोकपथ
189
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्शनका कारण रोकिएका सबै अनुसन्धानका काम तत्काल अघि बढ्ने बताएका छन् । 

शुक्रबार अपरान्ह नक्शालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले सुशासन प्रवर्द्धनलाई पहिलो प्राथमिकता बनाएको बताएका हुन् ।

मन्त्री अर्यालले विगतमा राजनीतिक हस्तक्षेपकै कारण भ्रष्टाचार बढेको उल्लेख गर्दै अब त्यस्ता अवरोध हटाइने स्पष्ट पारे । उनले प्रचलित कानुनअनुसार सबै अनुसन्धानलाई अघि बढाउन मातहतका निकायलाई सचेत गराइएको जानकारी दिए ।

‘अब सुशासनको मामिलामा केही फड्को मार्नुपर्छ,‘मन्त्री अर्यालले भने,‘सुशासन दिन नसक्दा अघिल्ला सरकार र जनप्रतिनिधिहरूको म्यान्डेट बीचैमा भंग भयो । त्यसैले हाम्रो म्यान्डेट नै सुशासन हो ।’

उनका अनुसार अपराध अनुसन्धान, आर्थिक अपराध तथा भ्रष्टाचार सम्बन्धी विषयमा अघिपछि राजनीतिक पहुँचका कारण रोकावट आइरहे पनि अब त्यसरी काम अवरुद्ध नहुनेछ । उनले भने, ‘रोकिनुपर्ने विषयहरू रोकिएका छन् भने वा नयाँ सुरुवात गर्नुपर्ने विषय छन् भने तुरुन्त अघि बढाउन निर्देशन दिएको छु ।’

गृहमन्त्री अर्यालले सुशासन कायम नगरी शान्ति–सुरक्षा सम्भव नहुने र शान्ति–सुरक्षा विना तोकिएको समयमै निर्वाचन हुन नसक्ने भएकाले सरकारले सुशासनलाई पहिलो सर्तका रूपमा अघि सारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?