काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सूचनाको हक (आरटिआई) प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार सूचनाको हकका लागि राष्ट्रिय (आरटिआई) महासंघले मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री खरेलले सूचनाको हकलाई व्यवस्थित र व्यावहारिक रूपमा लागू गरे भ्रष्टाचार न्यूनीकरणमा टेवा पुग्ने भएकाले यसलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।
उनले सरोकारवाला सबै पक्षलाई सहभागी गराई दसैँपछि छलफल कार्यक्रम आयोजना गर्ने घोषणा समेत गरे ।
आरटिआई महासंघका अध्यक्ष उमीद बागचन्दले ध्यानाकर्षण पत्रमार्फत् राष्ट्रिय सूचना आयोगको वर्तमान नेतृत्वको पुनरावलोकन गरी आवश्यक पुनःगठन गर्नुपर्ने र सक्षम नेतृत्व सुनिश्चित गर्नुपर्ने माग राखेका छन् । साथै, नागरिकलाई सहज, छिटो र न्यूनतम् लागतमा सूचना उपलब्ध गराउने व्यवस्था तत्काल लागू गर्नुपर्नेमा जोड दिएका छन् ।
महासंघले सार्वजनिक निकायमा पारदर्शिता र जवाफदेहिताको कडाइका साथ पालना, अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने, भ्रष्टाचार नियन्त्रणका लागि ठोस कार्य योजना अघि सार्ने र सुशासनका कार्यक्रममार्फत जेनजीको विश्वास जित्नुपर्ने माग गरेको छ ।
ध्यानाकर्षण पत्र महासंघका अध्यक्ष बागचन्द र महासचिव पूर्णप्रसाद मिश्रले हस्ताक्षर गरी बुझाएका हुन् । महासंघले सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हालसम्मको गतिविधिले ठोस परिणाम दिन नसकेको भन्दै सूचनाको हकलाई प्रवर्द्धन गर्न सचेत नागरिकले सहजै सूचना माग्न र पाउन सक्ने नीतिगत तथा कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया