घरको दैलो, त्यो एउटा सामान्य ढोका मात्रै होइन । यो ढोका भित्र सम्झना छ, मायाको बन्धन छ, आमा–बुबाको मुखाकृति छ, र एउटै मुटुमा गाँसिएको परिवारको स्पन्दन छ। यही भावनात्मक ढोका ढकढक्याउँदै गायक एवं गीतकार उमेश राउतले ल्याएका छन् – ‘दैलो खोल न ।’
गीतको पहिलो हरफमै परदेशको कष्ट झल्किन्छ, ‘‘परदेश आएँ परदेशी भएँ, मन त्यतै अल्झियो,
कोही छैन यहाँ दुस्खलाई साथी, घाउ फेरि बल्झियो ।”
यी हरफले लाखौँ परदेशिएका नेपालीको यथार्थ कथा भन्छ । परदेशमा पैसा कमाउने होडमा लाग्दा पनि मन भने गाउँको फूलबारी, आँगन, आमा र मायामा नै अल्झिरहेको हुन्छ ।
गीतमा प्रतीक्षा गर्ने मायालु चरीको प्रतीक प्रयोग मार्मिक छः
“पर्खिँदै होला त्यो फूलबारी, त्यो रानीचरीले,
न उठ्न दिन्छ, न सुत्न दिन्छ, सपनाको भारीले।”
यस्तो प्रतीक्षा केवल प्रेमिकाको मात्र होइन, त्यो आमाको पनि हुन सक्छ, परिवारको पनि, वा आफ्नै जन्मभूमिको। यही बहुआयामिक प्रतीक्षा नै गीतलाई विशेष भावनात्मक गहिराइ दिन्छ।
गीतमा संघर्ष पनि छ –
“रेटिनु जति रेटिएँ आमा, अब त फिर्छु है,
जो बाँकी रह्यो साहुको ऋण, आएरै तिर्छु है।”
परदेशमा थाकिसकेको आत्माले आमा सामु टाउको निहुराउँदै आश्वासन दिएको जस्तो लाग्छ।
संगीत पक्षमा पुरुषोत्तम सुवेदीको एरेन्ज र पारम्परिक वाद्यवादन (सारङ्गी, बाँसुरी, तबला, मादल, गिटार) ले गीतलाई जीवन्त बनाएको छ। सारङ्गी र बाँसुरीले गीतको पीडालाई अझै गहिरो पार्छ भने मादल र तबलाको धूनले गाउँको परिवेश झल्काउँछ।
गीतको रेकर्डिङ प्रिज्म रेकर्डिङ स्टुडियोमा गरिएको हो। गोबिन्द अनेक र कमल थापाले रेकर्डिस्टको भूमिका निभाएका छन् भने श्यामश्वेत रसाइलीले गीतलाई मिक्सिङरमास्टरिङ गरेर श्रवण–योग्य बनाएका छन्।
यस गीतलाई दृश्यात्मक बनाउन तयार गरिएको लिरिकल भिडियोलाई कबिर ओडले आकर्षक बनाएका छन्।
“दैलो खोल न” केवल एउटा प्रेम–गीत मात्र होइन। यो हजारौं नेपालीको भावनात्मक आत्मकथा हो, जसले आफ्नो घर–देश छाडेर विदेशमा पसिना बगाउँछन् तर मन भने गाउँको आँगनमै बन्धक हुन्छ।
शायद यही कारणले, यो गीतले श्रोतालाई आफ्नै जीवनको कथा सम्झाइदिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया