नागरिक उड्डयन प्राधिकरणले भन्यो : ‘हवाई टिकटमा भाडा नबढाउनू’

लोकपथ
539
Shares

काठमाडौं । सरकारले दसैँ, तिहार लगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै हवाई सेवा प्रदायक संस्थालाई आग्रह गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, मुलुकको कठिन आर्थिक अवस्थालाई ध्यानमा राख्दै यात्रुहरुलाई राहत दिन अधिकतम मूल्यभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सबै पक्षलाई अनुरोध गरिएको छ ।

भुलले भने, ‘देशको अवस्था हेरेर वायुसेवा कम्पनीका साथीहरूलाई कम्तीमा म्याक्सिमम फेयर नबेच्न, त्यसको सट्टा १–२ क्लास कम भाडामा टिकट बिक्री गर्न भनेका छौँ। बुद्ध एयर र अन्य कम्पनीहरूले यसअनुसार तयारी गरिरहेका छन्। उदाहरणका लागि, बुद्ध एयरले धनगढीका लागि १२ हजार भन्दा माथिको टिकट नबेच्ने योजना बनाएको छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, हवाई टिकटको न्यूनतमदेखि अधिकतम मूल्य कानुनले निर्धारण गरेको छ । सेवा प्रदायक संस्थाले अधिकतम मूल्यभन्दा कम मूल्यमा टिकट बेच्न सक्ने व्यवस्था भए पनि चाडपर्वमा यात्रुको चाप बढ्ने हुँदा कम भाडाका टिकट छिटो सकिन्छ र उच्च मूल्यका टिकट बढी बिक्री हुने अवस्था सामान्य रहेको छ ।

त्यसैगरी, प्राधिकरणले चाडपर्वको समयमा यात्रुको सहजतालाई ध्यानमा राख्दै अतिरिक्त उडानको व्यवस्था पनि गरेको जनाएको छ । सामान्य अवस्थामा नेपालमा दैनिक करिब १० हजार यात्रुले आन्तरिक उडान गर्ने गरेका छन् भने दसैँ–तिहारको समयमा यो संख्या दैनिक १८ हजारसम्म पुग्ने अनुमान गरिएको छ ।

यस कदमले यात्रुलाई उच्च भाडाबाट बचाउँदै, चाडपर्वमा सहज यात्रा सुनिश्चित गर्ने सरकारको प्रयासलाई झल्काउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?