नारायणगढ–मुग्लिन सडकखण्डमा सहज रूपमा यातायात सञ्चालन

लोकपथ
196
Shares

चितवन । लगातार १०५ घण्टा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड गएरातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

चितवनको तुइन खोलामा शुक्रबारदेखि पटक-पटक खसेको पहिरोका कारण सडक लामो समय अवरुद्ध भएको थियो । तर डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार बिहीबार राति ११ः३५ बजेदेखि दुवै तर्फी आवागमन सहज भएको हो ।

लामिछानेका अनुसार हाल ठूलो पहिरो खस्ने तत्काल जोखिम नरहेकाले यात्रु सहजै यात्रा गर्न सक्ने अवस्थामा पुगेका छन् । ‘सानातिना पहिरो खस्दा तत्कालै सफा गर्न सकिन्छ । अहिले सडक सुरक्षित देखिन्छ, तर पूर्ण भर गर्न सक्ने अवस्था भने छैन,उनले भने ।

सडकमा पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने भएकाले यात्रुलाई सावधानीपूर्वक आवागमन गर्न आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अवरुद्ध सवारीसाधनलाई राति नै गन्तव्यतर्फ पठाइएको जानकारी दिए । उनका अनुसार ठूलो पहिरो भए पनि सम्बन्धित निकायको मेहनतका कारण अपेक्षाभन्दा छिटो सडक सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?