जेनजी पुस्ताले संविधान र व्यवस्थाको रक्षाका लागि आन्दोलन गरेका थिएनन् : कमल थापा

लोकपथ
238
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेनजी पुस्ताको आन्दोलनलाई देशी र विदेशी शक्तिहरूले हाइज्याक गरेको गम्भीर आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले जेनजी पुस्ताले संविधान र व्यवस्थाको रक्षाका लागि नभई भ्रष्टाचार र कुशासन अन्त्यका लागि आन्दोलन सुरु गरे पनि त्यसलाई अन्य शक्तिहरूले कब्जा गरेको दाबी गरे ।

उनले भने, ‘जेनजी युवाहरू यथास्थितिको निरन्तरता र संविधानको रक्षाका लागि आन्दोलन गरेका होइनन् । उनीहरूको मुख्य एजेण्डा भ्रष्टाचार अन्त्य थियो । तर यही व्यवस्थामा रहेर भ्रष्टाचार र कुशासन अन्त्य गर्न सकिँदैन ।’

थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डको अभिव्यक्ति नै आन्दोलन हाइज्याक भएको प्रमाण भएको टिप्पणी गरे । उनले अहिलेकै संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली र शासकीय संरचनाले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको उल्लेख गर्दै भने , ‘संविधान र व्यवस्थालाई यथावत राखेर जनतालाई धोका दिने षड्यन्त्र भइरहेको छ ।’

उनले संवैधानिक अंगमा भइरहेका राजनीतिक नियुक्तिहरू नै मुलुकमा भ्रष्टाचारको मूल कारण भएको आरोप लगाए । साथै, आगामी चुनाव पनि यही व्यवस्थाअनुसार हुने हो भने पुरानै पार्टीहरू वा केही नयाँ पार्टी देखिए पनि स्थिर सरकार बन्न नसक्ने र अप्राकृतिक गठबन्धनमार्फत अराजकता मात्र बढ्ने चेतावनी दिए ।

थापाले मुलुकलाई निकास दिनका लागि सबै प्रजातन्त्रवादी र राजावादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?