प्रचण्डले भने : ‘पदलोलुपता मेरो नेचर होइन, अहिले नै जिम्मेवारीबाट भाग्दिन’

लोकपथ
945
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले नै जिम्मेवारीबाट नपन्छिने बताएका छन् । 

बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो जिम्मेवारीबाट पन्छिने बिलकुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन, त्यसैले अहिले पनि म हुनै पर्ने भन्ने छैन । राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु ।’

जेनजी आन्दोलनपछि पार्टी नेतृत्व छाड्न दबाब बढिरहेका बेला अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनको भावनाअनुसार निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्न भने आफू तयार रहेको बताए । 

आजको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘केही मान्छेहरूले भनेजस्तो मलाई सधैँभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन छैन । नेतृत्व हस्तान्तरणको निम्ति हामी तयार हुनै पर्छ । जेनजी आन्दोलनको भावनालगत्तै निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्नेबारे मैले सार्वजनिक रूपमा अपिल गरिसकेको छु ।’

वैज्ञानिक वस्तुवादी विधि र विकल्पसहित आफू नेतृत्व छाड्न तयार रहेको बताउँदै उनले थपे, ‘यो विषम परिस्थितिमा पार्टीलाई छोडेर भाग्ने, जिम्मेवारीबाट पन्छिने, पलायन हुने, देश र जनतालाई धोका दिने भने पक्कै छैन ।’ 

देशी विदेशी चलखेल र हस्तक्षेप भएको आजको सन्दर्भमा नेतृत्व हस्तान्तरण जिम्मेवारीपूर्वक र विधिसम्मत रूपमा गरिनुपर्ने बताए । 

उनले भने, ‘जेन–जी आन्दोलनका मागप्रति समर्थन गरेको र राज्यदमनको विरुद्ध उभिएको हाम्रो पार्टीले आन्दोलनको भावनाअनुसार नै पार्टीको केन्द्रीय पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति विघटन गरी यही बैठकबाट आयोजक समिति बनाएर विशेष महाधिवेशनमा जानेछ ।’ लोकतन्त्रको रक्षाको लागि फागुन २१ को निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?