काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामो समयदेखि सत्तामा रहेका नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
वर्तमान राजनीतिक परिस्थिति र हालै नेसपा नयाँशक्तिबाट राजीनामा दिएका डा. भट्टराईले पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् ।
डा. भट्टराईले बुधबार पार्टी केन्द्रीय समिति बैठकमा आफूले अध्यक्ष पद त्यागको घोषणा गरेका थिए ।
सो विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘भ्रष्ट नेताहरुको सम्पत्ति छानबिन गरेर कारबाही नगरे पुनः त्यही अवैध पैसाबाट निर्वाचन लडेर जितेर आउँछन् ।’
त्यस्तै उनले अहिलेको जेनजी आन्दोलन ००७ सालदेखिकै क्रान्तिको निरन्तरता रहेको बताएका छन् । साथै जनेजी समूहलाई कमजोर नहुन समेत आग्रह गरेका छन् । यदी जेनजी समूह कमजोर भएमा पुनः पुरानै शक्तिहरु अघि आउने र आन्दोलनको उदेश्य नै समाप्त हुने उनको दाबी छ ।
‘तपाईँहरु कमजोर हुने बित्तिकै यीनिहरु पुनः सचेत भएर अघि बढ्छन्,’ जेनजीलाई आग्रह गर्दै उनले भने, ‘कुनै पनि बहानामा पुराना शक्तिहरुसँग झुक्ने काम गर्नु भयो भने तपाईँहरुलाई पनि इतिहासले समीक्षा गर्नुपर्दछ ।’
जेनजी आन्दोलनपछि राजनीतिक कोर्ष परिवर्तन भए पनि पुराना नेताहरुको नियत परिवर्तन हुन नसकेको उनको भनाइ रहेको छ । साथै खासगरी पुराना राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादीको नेतृत्व सच्चिने अवस्थामा नरहेको उनको तर्क रहेको छ ।
पुराना दलका नेताहरु सच्चिने अवस्थामा छैनन् । कांग्रेस, माओवादी र एमाले सच्चिने छाँटकाट गरेका छैनन्,’ उनले भने ।
आफूले पार्टी नेतृत्वबाट राजीनामा दिए पनि आन्दोलन र वैकल्किपक राजनीतिक धार बनाउने अभियानबाट अलग नभएको बताए । अब नयाँ पुस्ता रानजीतिमा आइसकेको अवस्थामा आफूहरुले राजनीति छाडेर उनीहरुका लागि बाटो बनाइदिनुपर्नेमा समेत जोड दिए ।
‘नैतिक हिसाबले पनि नवयुवाहरुले ढोका ढक्ढकाइसके । हाम्रो नाती पनाती पुस्ता अघि आइसक्यो, उनीहरुलाई हामीले छाड्नुपर्छ,’ उनले भने,’ ‘ आफू नेतृत्वबाट पछि हटे पनि आन्दोलन र वैकल्पिक राजनीतिको बाटोबाट पछि हटेको छैन । अन्य शक्तिहरु समेत रहेका छन् ।’
त्यस्तै जेनजी आन्दोलनपछि सत्ता गुमेका नेताहरु बाह्य हस्तक्षेप बढेको भन्दै भ्रम फैलाइरहेको भट्टराईको तर्क छ । उनले नेताहरुले जेनजी आन्दोलनलाई बाह्य शक्तिको डर देखाएर कमजोर पार्न खोजेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया