हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास तथा कार्यालयमा हुने सुविधा र बन्दोबस्ती खर्च ५० प्रतिशतले कटौती गर्ने घोषणा गरेका छन् ।
बुधबार बसेको प्रदेशसभाको विशेष समयपछि सम्बोधन गर्दै उनले विगतका मुख्यमन्त्रीहरूले गर्दै आएको खर्चमा यो कटौती गर्ने बताएका हुन् ।
मुख्यमन्त्री बानियाँले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता र जबाफदेहिता कायम गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘पहिलो मन्त्रिपरिषद् बैठकबाट सेवा सुविधा बापतको रकम आफ्नो निर्वाचन क्षेत्रमा गरिब तथा विपन्नको घर बनाउन खर्च गरिनेछ ।’ मकवानपुर–२ क्षेत्रका विपन्न नागरिकको घर आगामी दसैँ अगावै निर्माण गरिने उनले बताए ।
बानियाँले भने, ‘जनमुखी, सेवामुखी, न्यायमुखी, आयमुखी र विकासमुखी सरकारको यात्रा निरन्तर अघि बढ्नेछ। मैले मुख्यमन्त्रीको हैसियतले पाउने मासिक सुविधा बाट निर्वाचन क्षेत्रका ३० वटा वडाध्यक्षको सबैभन्दा विपन्न गरिबको घर दसैँ अगावै बनाइसक्ने छु। गरिब मुखी काम यहीबाट सुरु हुनेछ ।’
उनका अनुसार पहिलो क्याबिनेटले गरिब विपन्न वर्ग लक्षित छात्रवृत्ति वितरणको निर्णय पनि गरेको छ । आर्थिक रूपमा कमजोर भएका वनकरिया, थामी, चेपाङ, जिरेळ, पहरी लगायतका पछाडि परेका वर्गका विद्यार्थीहरूलाई अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइने छ ।
मुख्यमन्त्री बानियाँले विगतका राम्रा कार्यहरूलाई प्राथमिकतामा राखेर अघि बढाउने र विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा विशेष ध्यान दिने पनि बताए । उनले सरकार नागरिक प्रति उत्तरदायी, पारदर्शी र जबाफदेही भएर अघि बढ्ने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया