जनकपुरधाममा दसैँ लक्षित सुरक्षा व्यवस्था कडा

लोकपथ
77
Shares

जनकपुरधाम । दसैँको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वका अवसरमा जनकपुरधाममा भक्तजनको भीड बढ्ने भएकाले विशेष सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले नगरका विभिन्न प्रवेशद्वारमा चेक प्वाइन्ट स्थापना गरेको छ भने गाउँ–गाउँमा गस्ती टोलीसहित सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ । चाडपर्व सुरक्षित बनाउन ८०५ नेपाल प्रहरी र ४५० सशस्त्र प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।

उनका अनुसार शहरी क्षेत्रमा कुनै घटना भए पाँच मिनेटमै र ग्रामीण क्षेत्रमा १० मिनेटमै प्रहरी टोली पुग्ने गरी तयारी मिलाइएको छ । भीडभाड हुने समयमा अवाञ्छित गतिविधि देखिए तुरुन्त प्रहरीलाई खबर गर्न रेग्मीले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

दसैँमा जनकपुरधाममा हुने भीड व्यवस्थापन र सुरक्षालाई लिएर यस वर्ष प्रहरी विशेष सतर्क देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?