गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, बाबुआमा घाइते

लोकपथ
252
Shares

काठमाडौं । गुल्मीमा चट्याङ लाग्दा एकै परिवारकी बालिकाको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन् ।

मदाने गाउँपालिका–५ झ्यानपानीका नेरसिंह विकको घरमा आज बिहान करिब २ बजे चट्याङ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।

चट्याङ लागेर विककी चार वर्षीया छोरी रियासा विकको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनामा नेरसिंह विक र उनकी पत्नी सुन्तली विक घाइते भएका छन् । घरमा सुतिरहेको बेलामा परेको चट्याङले नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको भए पनि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त वलीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?