काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव मात्र रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावस्वरूप कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही, कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशको पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली हुने अनुमान छ।
कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा अन्य पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाले विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया