शिक्षामन्त्री पुनको निर्देशनपछि त्रिवि हाताभित्रको झाडी फाँडेर सुन्दर बगैँचा बनाइने

लोकपथ
2.9k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हाताभित्र रहेको झाडी फाँडेर सुन्दर बगैँचासहित आकर्षक फुटपाथ बनाउन दिएको निर्देशनलाई विश्वविद्यालयको नेतृत्वले सकारात्मक रूपमा लिएको जनाएको छ ।

मन्त्री पुनले विश्वविद्यालयको हाताभित्रको उक्त झाडीका ठूला रुख संरक्षण गरी सफा र सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन असोज ७ गतेको मन्त्रालयस्तरीय ब्रिफिङमा निर्देशन दिएका थिए ।

त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले शिक्षामन्त्री एवं सहकुलपति पुनको निर्देशन सकारात्मक रहेको बताए ।

‘करिब ५० रोपनी क्षेत्रफलको झाडीमा चितुवासमेत लुकेर बस्ने हुँदा स्थानीयवासीलाई असुरक्षा हुने स्थिति आएको छ । यस्तो अवस्थामा मन्धीको निर्देशनले हामीलाई काम गर्न सहज हुनेछ,’ उनले भने ।

हालसम्म लिखित जानकारी नआएको बताउँदै उपकुलपति डा. अर्यालले सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएको उल्लेख गरे । उनले भने, ‘उक्त निर्देशनको कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन पनि सरकार वा अन्य निकायबाट हुने विश्वास लिएका छौँ ।’

कीर्तिपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राज्यलक्ष्मी शाक्यले विश्वविद्यालय हाताभित्रको झाडीलाई फाँडेर उपयोगमा ल्याउने शिक्षामन्त्री पुनको निर्देशन सकारात्मक रहेको बताइन् । सो स्थानमा बगैँचाका साथै अर्गानिक खेती गरी युवालाई स्वरोजगार र कृषि पर्यटनमा लगाउनुपर्नेमा उनले जोड दिइन् । उहाँले यसबारे आफूहरूले त्रिविको नेतृत्वलाई जानकारी गराइएको भन्दै शिक्षामन्त्रीलाई सोबारे आग्रह गर्ने बताइन् ।

मन्त्री पुनले कतिपय विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न आठ महिनादेखि एक वर्षसम्म लगाउने गरेका बताउँदै उक्ता परम्परामा सुधार ल्याउन पनि निर्देशन दिएका थिए । तीन महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गर्ने मन्त्री पुनको निर्देशन छ ।

यसैबिच विश्वविद्यालयका पदाधिकारीले हालै अन्तरिम सरकारका प्रधानमन्त्री एवं त्रिविका कुलपति सुशीला कार्कीलाई भेटेर कामकारबाहीबारे जानकारी गराएका छन् ।

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको कीर्तिपुरस्थित प्रहरी वृत्तलाई त्रिविले आफ्नो तर्फबाट केही थान कम्प्युटर, प्रिन्टर, फर्निचरलगायत सामग्री सहयोग गरेको छ । त्रिविबाट हुनसक्ने सहयोगका लागि कीर्तिपुर नगरपालिकाले पनि आग्रह गरेको छ । प्रदर्शनका क्रममा नगरपालिकाको भवनमा पनि क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?