काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका भौतिक संरचना पुननिर्माणका लागि सरकारले सहयोगको अपील गरेको छ ।
असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘भौतिक पूर्वाधार पुननिर्माण कोष’ खडा गरेर सहयोगको अपील गरेको हो ।
जेनजी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निमाणको लागि आवश्यक स्रोत व्यवस्था गर्न सरकारले आम नागरिक तथा व्यवसायीक क्षेत्रसँग आग्रह गरेको हो ।
‘मिति २०८२ भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको छ । त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको छ । नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेश तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी भई नेपाल सरकार सबैमा हार्दिक आह्वान गर्दछ । यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटानउ–खर्च कट्टी गर्न पाइने,’ जारी विज्ञप्तिमा भनिएको छ ।
अर्थ मन्त्रालयले आर्थिक सहयोग संकलनका लागि राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखा काठमाडौंको खातामा जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।
त्यसो त यसअघि महाभूकम्प, कोरोनादेखि अन्य विपत्तिमा समेत सरकारको आह्वानमा राहत कोष खडा गरी पुनर्निर्माण गरिँदै आइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया