‘सार्वजनिक सूचना दिगो विकाससँग जोड्न आवश्यक’

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यले सार्वजनिक निकायबाट प्रवाह हुने सूचनालाई दिगो विकाससँग जोडेर प्रयोग गर्नुपर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नागरिक जीवनमा परिवर्तन ल्याउनेगरी सूचनाको सदुपयोग गर्न आवश्यक रहेको बताए ।

डा.आचार्यका अनुसार, सूचना माग गर्ने शैलीमा अझै पुरानै प्रवृत्ति देखिएको छ । नागरिकहरू व्यक्तिगत सरोकारका विषयमा बढी केन्द्रित हुँदा सार्वजनिक हितमा सूचनाको उपयोग गर्न कठिनाइ भइरहेको उनले बताए ।

‘सूचनाका विषयहरू परिवर्तन हुँदै गएका छन्, तर हामी अझै पुरानै ढंगबाट सूचना माग गरिरहेका छौँ। वास्तवमा सूचनाको हक सार्वजनिक हितका लागि कसरी प्रयोग गर्न सकिन्छ र यसको उपयोगबाट नागरिक जीवनमा परिवर्तन कसरी ल्याउन सकिन्छ भन्ने विषयमा सही ढंगले उपयोग भइरहेको छैन, ‘उनले भने ।

उनले प्रविधिको विकासका कारण कतिपय सूचनाहरू स्वतः सार्वजनिक निकायबाट प्रवाहित भइसकेको पनि बताए । ‘प्रविधिको यति धेरै विकास भएको छ कि कतिपय सूचनाहरू मागिरहनु नै पर्दैन, केही नमागेका सूचनाहरू समेत स्वतः उपलब्ध छन्,’ उनले थपे ।

डा.आचार्यले यस अवसरमा नागरिकहरूलाई सूचनाको प्रयोगमा सचेत रहन र सार्वजनिक हितका लागि यसलाई प्रभावकारी ढंगले प्रयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?