तुरुन्तै उपलब्ध गराउन सकिने सूचना सात दिनसम्म रोक्न मिल्दैन : सविता भण्डारी

लोकपथ
882
Shares

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले सरकारी निकायहरूमा सूचना उपलब्ध गराउने प्रक्रिया अझै अस्पष्ट रहेको बताएकी छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले तत्काल उपलब्ध गराउन सकिने सूचनासमेत सात दिनसम्म ढिलाइ गरेर दिने प्रवृत्ति गलत भएको बताइन् । ‘तत्कालै उपलब्ध गराउन सकिने सूचना तुरुन्तै उपलब्ध गराउनुपर्छ,‘उनले भनिन्, ‘तर केही कार्यालयहरूले निवेदन आएपछि सात दिनसम्म राखेर मात्र दिने परिपाटी अपनाउने गरेका छन्, जुन उचित होइन ।’

महान्यायाधिवक्ताका अनुसार, जिउज्यान वा धनसँग सम्बन्धित सूचना बढीमा २४ घण्टाभित्र उपलब्ध गराउनुपर्ने प्रावधान भए पनि धेरै सरकारी निकायहरूले यसको उल्लङ्घन गर्ने गरेको पाइन्छ । उनले भनिन्, ‘सूचना आयोगको पत्र आएपछि पहिले कार्यालयहरूमा हंगामा हुने गरेको थियो, तर अहिले स्थिति केही सुध्रिएको छ । तर अझै पनि सूचना माग प्रक्रिया स्पष्टसँग बुझ्न सकिएका छैनन् ।’

भण्डारीले सूचना प्रवाह र पारदर्शितामार्फत नागरिकलाई जिम्मेवार बनाउन सूचनाको हक महत्त्वपूर्ण भएको बताइन् र सम्बन्धित निकायहरूलाई तत्काल उपलब्ध हुने सूचनामा ढिलाइ नगर्न अनुरोध गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?