तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने

लोकपथ
420
Shares

 चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा मंगलबार दिउँसो ४:३० बजे खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने अनुमान गरिएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार आज बिहानबाट पहिरो पन्छाउने काम थालिएको हो ।

सडकको करिब १६० मिटर भाग पहिरोले ढाकिएको छ । दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ भने दमौलीबाट अर्को स्काभेटर मगाइएको छ । लामिछानेले पहिरोको अवस्था हेर्दा ठुला थप पहिरो खस्ने सम्भावना कम भए पनि माथिबाट केही ढुङ्गा खस्न सक्ने बताए ।

सडकमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ। पहिरो पन्छाएर समय समयमा सवारी आवागमन भए पनि मंगलबार साँझदेखि ठप्प भएको छ । सवारी रोकिँदा यात्रुवाहक सवारी केही फर्काएर वैकल्पिक मार्ग प्रयोग गर्न पुगेका छन् भने मालवाहक सवारी लाममा छन् ।

वैकल्पिक मार्ग

डिभिजन सडक कार्यालय चितवनले साना सवारीका लागि जुटपानी, शक्तिखोर, मायाँटार हुँदै धादिङको मलेखु हुँदै काठमाडौं वा मकवानपुरतर्फ निस्कन सकिने जानकारी दिएको छ । हेटौँडाबाट भैँसे, भीमफेदी, कुलेखाने, सिस्नेरी हुँदै दक्षिणकाली मार्गमा हलुका सवारी सञ्चालन गर्न सकिने छ ।

ठुला सवारीका लागि पूर्वबाट कान्ति लोकपथ प्रयोग गरी हेटौँडा, गिंगन हुँदै भट्टेडाँडा हुँदै ललितपुरको सातदोबाटो पुग्न सकिने छ । पोखरा जाने सवारीका लागि बुटवल हुँदै जान सकिने छ । साथै, कालीगण्डकी कोरिडोरको बाटो साना सवारी सञ्चालनयोग्य छ भने गैँडाकोटबाट तनहुँको भिमाद र पाल्पाको रामपुर जान पनि सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?