झापा । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बिर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयमा भएको आगजनी र तोडफोडपछि फरार भएका ९२ मध्ये ९१ जना थुनुवा अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार फरारमध्ये एक जना मात्र आफैँ सम्पर्कमा आएका छन् भने बाँकीको खोजतलास भइरहेको छ ।
उक्त आन्दोलनका क्रममा बिर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयबाट ५१ जना, दमक इप्रकाबाट ३६ जना र झिलझिले इप्रकाबाट पाँच जना गरी कुल ९२ जना थुनुवा फरार भएका थिए ।
यसैबीच, आन्दोलनकै क्रममा बिर्तामोड र दमक इप्रकाबाट लुटिएका ९९ थान हतियारमध्ये ७५ थान सकुशल फिर्ता भइसकेको प्रहरीले जनाएको छ । अझै २४ थान हतियार फिर्ता हुन बाँकी छ ।
प्रहरीका अनुसार फिर्ता भएका हतियारमध्ये एसएलआर ११ थान, इन्सास राइफल २६ थान, थ्रीनटथ्री राइफल १८ थान, सट गन पाँच थान, ग्यास गन छ थान, रिभल्भर छ थान र एसएमजी तीन थान रहेका छन् ।
फरार थुनुवा र बाँकी हतियारको खोजतलास तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया