वीरगञ्ज नाका हुँदै दुई महिनामा ७ अर्बभन्दा बढी सवारीसाधन भित्रिए

लोकपथ
112
Shares

पर्सा । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगन्ज नाकाबाट सात अर्ब १६ लाख रुपैयाँ बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ७५ करोड रुपैयाँ बढी हो ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको दुई महिनामा पाँच अर्ब २५ करोडका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए । कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले यस वर्षको आयात उत्साहजनक रहेको बताए ।

गत वर्षको दुई महिनामा सवारीसाधन आयातबाट चार अर्ब ४७ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्षको सोही अवधिमा छ अर्ब १३ करोड ९२ लाख रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ ।

यस अवधिमा ४३ करोड ५२ लाख मूल्यका एक सय ७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत वर्ष भने २९५ युनिट आयात भएर यसको मूल्य ५१ करोड ६२ लाख पुगेको थियो ।

त्यस्तै, चालु आवको दुई महिनामा  दुई अर्ब ७९ करोड मूल्यका २० हजार ६२० थान अनएसेम्बल्ड मोटरसाइकल आयात भए । गत आवमा भने १४ हजार ७६६ थान मोटरसाइकल रु एक अर्ब ८५ करोड मूल्यका आयात भएका थिए ।

भन्सार कार्यालयका अनुसार यस अवधिमा ६६ करोड ४३ लाख मूल्यका तीन सय १८ वटा अन्य बस तथा ट्रकका चेसिस पनि आयात भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?