तत्काल चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

लोकपथ
280
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगबिच छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालयमा आयोजित बैठकमा उनले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी ढंगले सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकता रहेको उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले आयोगलाई आवश्यक स्रोत–साधन, जनशक्ति र शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने जानकारी दिँदै तयारीका सम्पूर्ण कार्य तत्काल अघि बढाउन आग्रह गरिन् ।

आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिकासहितका सामग्री मौज्दातमा रहेको र अभाव हुने सामग्री स्वदेशमै उत्पादन गरी खरिद गरिने बताए । उनले राजनीतिक दल, नागरिक समाज र सञ्चारजगतसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता जनाए ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल र आयोगका आयुक्त डा.जानकी तुलाधर, सगुन शमशेर जबरा तथा सचिव महादेव पन्थ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?