१९ अक्टोबरदेखि काठमाडौं-कोलकाता सिधा उडान

एकतर्फी भाडा १३ हजार ३५३ रूपैयाँ, पर्यटकीय र धार्मिक प्याकेज पनि !

लोकपथ
98
Shares

काठमाडौं । बुद्ध एयरले काठमाडौं-कोलकाता सिधा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोस्रो उडान भारतको पश्चिम बंगालको राजधानी कोलकातातर्फ १९ अक्टोबारबाट पुनः उडन सुरु गर्न लागेको हो ।

कम्पनीले अहिले सुरुवातमा साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन गर्ने जनाएको छ ।  काठमाडौंबाट बिहान ७ बजे र कोलकाताबाट स्थानीय समय ९ः२० बजे फर्किने तालिका रहेको छ । कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ भने यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ ।

यसका लागि एकतर्फी भाडा मात्र १३ हजार ३५३ रूपैयाँ तोकिएको छ ।

कोलकाता उडानसँगै बुद्ध एयरले यात्रुको सहजताको लागि पर्यटन र धार्मिक प्याकेज पनि ल्याइएको छ ।

कम्पनीले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरू भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरिरहेको जनाएको छ ।

नेपाली यात्रुहरुलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छ । यी प्याकेजहरु बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ ।

व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भए पनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बुद्ध एयरको विश्वास छ ।

यसअघि बुद्ध एयरले विसं २०७६ को वैशाख २ बाट कोलकाता उडान भरेको थियो, पछि कोभिड महामारीका कारण मंसिर १६ बाट उडान तत्कालको लागि स्थगन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?