काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका आयोजनाहरू सुनकोसी मरिण र भेरी बबई बहुउद्देश्यीय परियोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने स्पष्ट पारेका छन् ।
मंगलबार मन्त्रालयमा सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजनाका प्रमुख, परामर्शदाता तथा निर्माण व्यवसायीसँग छलफल गर्दै मन्त्री घिसिङले दुवै आयोजनामा देखिएको अस्वाभाविक ढिलाइको जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने बताए । उनले अब ठेक्का तोडेर नयाँ ढंगले अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे ।
मन्त्री घिसिङले भने, ‘राज्यको अर्बौँ लगानी भइसकेको छ, ब्याज मात्र अर्बौँ पुगेको छ । यस्तो अवस्थामा म्याद थप्नुको औचित्य छैन ।’ उनका अनुसार यी आयोजनाबाट तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व बढाउने तथा अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य थियो तर ढिलाइका कारण प्रतिफल गुमिरहेको छ ।
भेरी बबई आयोजनामा सुरुङ २०७७ भदौमै सम्पन्न भए पनि बाँध तथा विद्युत् गृह निर्माणमा प्रगति सुस्त भएको छ । गङ्दोङ युतियान-रमण जेभीसँग भएको ठेक्काअनुसार हालसम्म ५७ प्रतिशत मात्र भौतिक प्रगति भएको मन्त्रालयले जनाएको छ ।
ठेक्का अवधि करिब ६० प्रतिशत सकिँदा पनि पटेल रमण जेभीले १० प्रतिशत मात्र काम अघि बढाएको उल्लेख गर्दै उनले निर्माण व्यवसायीप्रति असन्तुष्टि जनाए ।
मन्त्री घिसिङले नियत विपरीत काम गर्ने प्रवृत्तिलाई रोक्न ‘सबै ठेक्का तोडी नयाँ बाटोबाट अघि बढौँ भन्ने अडान सार्वजनिक गर्दै अब ढिलाइ बर्दाश्त गर्न नसकिने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया