काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज सिंहदरबारमा छलफल गरेका छन् ।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले कानुन संशोधन, निर्वाचन व्यवस्थापन तथा स्रोत परिचालनलगायत विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको तयारी अनिवार्य भएकाले सम्भावित अवरोधलाई पहिचान गरी तत्काल समाधान गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रभावकारी समन्वयका लागि प्रारम्भिक कुराकानी भएको र आगामी दिनमा आउने चुनौतीबारे नेपाल सरकारसँग निरन्तर छलफल अघि बढाइनेछ । उनले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट पारे ।
आयोगले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ संशोधन र आवश्यक स्रोतसाधन सुनिश्चितताका लागि सरकारसँग आग्रह गर्दै आएको छ । आयोगको तथ्याङ्कअनुसार हालसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३० पुगेको छ ।
यसअघि आयोगले यही असोज २ गते गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि छलफल गरेको थियो । मध्यावधि निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन पुनः खुला गर्न कानुनी प्रावधान मिलाउनुपर्ने विषयमा आयोग र सरकार बिच छलफल भइरहेको छ ।
गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने उपायबारे सोच्नुपर्ने सुझाव दिएका थिए । त्यसबारे आयोगले कानुनी विज्ञसँग समेत परामर्श गरेको जनाएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् बनेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया