काठमाडौं । मंगलबार नेप्से परिसूचक २.२३ प्रतिशतले बढ्दै ५८.६३ अंकले उक्लेर २६८२ विन्दुमा पुगेको छ । बजार वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ९ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज कारोबार रकम ५ अर्ब २९ करोडमा सीमित रह्यो ।
आज २३८ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ । बजार खुलेदेखि दिनभर हरियो रहँदै कारोबार सम्पन्न भयो ।
सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा देखिएको छ । यो समूह ३.४८ प्रतिशतले बढेको हो । अघिल्लो कारोबार दिनमा यो समूह ४ प्रतिशतले घटेको थियो । भदौ २४ गतेको विध्वंसका कारण व्यवसायिक तथा आवासीय भवन र सवारीसाधनमा भएको क्षतिको प्रभावले बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको थियो । तर आज लगानीकर्ताहरू यसै समूहतर्फ आकर्षित देखिए । हालसम्म निर्जीवन बीमा कम्पनीहरूमा करिब २२ अर्ब रुपैयाँको दाबी भुक्तानीका लागि आवेदन परेको छ । वास्तविक मूल्यांकनपछि पुनर्बीमा रकमसहित भुक्तानी हुने अपेक्षा गरिएको छ ।
अन्य समूहहरूमा पनि उल्लेखनीय वृद्धि भयो । बैंकिङ १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ तथा व्यापार समूह १.८३ प्रतिशतले बढे ।
आज ८ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीहरूमा सप्तकोशी विकास बैंक, जोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी, एसियन हाइड्रोपावर र हिमस्टार इनर्जी रहेका छन् । यस्तै, कालिका पावर ९.८४ र सयपत्री हाइड्रोपावर ९.८३ प्रतिशतले बढे । मूल्य धेरै घट्नेमा भने अधिकांश ऋणपत्र परे ।
धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनिभर्सल पावर, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स सामेल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया