सुरक्षाको ग्यारेन्टी बिना नेपालमा लगानी सम्भव छैन : निजी क्षेत्र

लोकपथ
1.7k
Shares

काठमाडौं । देशको अर्थतन्त्रलाई अघि बढाउने मुख्य आधार रहेको निजी क्षेत्रमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सबैभन्दा ठूलो प्रहार भएको छ ।

जेनजी आन्दोलनको प्रमुख तारोमा परेको निजी क्षेत्रले करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ ।

आन्दोलनका क्रममा ठूला उद्योगधन्दा, व्यापारिक संरचना र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण भएपछि निजी क्षेत्रले लगानीकर्ताको मनोबल गिरेको र सुरक्षाको ग्यारेन्टी बिना नेपालमा लगानीको वातावरण नबन्ने सरकारलाई चेतावनी दिएको छ ।

सरकारले प्रमुख चुनौती शान्ति र सुरक्षाको सुनिश्चितता भएको निजी क्षेत्रका उद्योगी व्यवसायीको भनाइ छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा सहभागी पर्यटन, उद्योग, अटोमोबाइल र बीमा क्षेत्रका प्रतिनिधिहरूले एक स्वरमा सुरक्षाको ग्यारेन्टी बिना कुनै पनि क्षेत्र माथि उठ्न नसक्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आन्दोलनले व्यवसायीको सुरक्षामा ठूलो प्रश्न चिन्ह खडा गरेको बताए । जेन जी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित बनाएको उनको भनाइ छ । सरकारले लगानीकर्ता र व्यवसायको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने बताए । सार्वजनिक र निजी क्षेत्रको ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले लगानीकर्ताका लागि सबैभन्दा महत्वपूर्ण कुरा सुरक्षाको प्रत्याभूति भएको बताए । आन्दोलनका कारण जिडिपीमा कम्तीमा ५ प्रतिशत नोक्सान भएको उनको भनाइ छ । निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेकोले बताए ।

उनले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको भए पनि जेन जी आन्दोलनले रोकिएको जानकारी दिए ।  

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले उद्योगी व्यवसायीले आर्जन गरेको सम्पत्तिमाथि आक्रमण हुनु सरकारको कमजोर सुरक्षा व्यवस्थाको नतिजा भएको बताए । व्यवसायीले कर तिरेर कमाएको सम्पत्ति असुरक्षित देखिनु राष्ट्रकै लागि खतरनाक रहेको उनको भनाइ छ । 

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले जेन जी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताए ।आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको उनको भनाइ छ । 

पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको उल्लेख गर्दै उनले सरकारले तत्कालै नेपाल सुरक्षित रहेको प्रत्याभूति विश्वव्यापी रुपमा दिलाउनुपर्ने बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले जेन जी आन्दोलन निजी क्षेत्र लक्षित भएको बताउनु भयो । आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरीका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए ।

राज्यका संयन्त्रमा जबाफदेहिता, उत्तरदायित्व नभएकै कारण समस्या आइरहेको उनको भनाइ छ । उनले राज्य जवाफदेही नहुँदासम्म सुधार हुन नसक्ने दाबी गरे । 

बीमक संघका निःवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्नुपर्नेमा जोड दिए । नेपालमा धेरै पटक नसोचेका घटनाहरू भएको उल्लेख गर्दै उनले सरकारी सम्पत्तिको सुरक्षाका लागी बीमा अनिवार्य भएको बताए । 

निजी क्षेत्रका प्रतिनिधिहरूले सुरक्षाको अभावले विदेशी लगानी रोकिएको, वैदेशिक रोजगार र अध्ययनका नाममा लाखौँ युवा पलायन भइरहेकोले देशको उत्पादनशील क्षेत्र ठप्प हुने खतरा बढेको चेतावनी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?