काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफूहरूबाट लुटिएका हातहतियार समाजमा विभिन्न अपराधमा प्रयोग हुन सक्ने भन्दै प्रहरीले यसलाई सुरक्षा चुनौतीका रूपमा हेरेको छ । ठूलो संख्यामा आफूहरूबाट हतियार लुटिएको र हजारौँ कैदीबन्दी भागेकाले हतियारधारी सशस्त्र समूहको उदय हुन सक्ने जोखिम पनि रहेको प्रहरी स्वयंले विश्लेषण गरेको छ । साथै समाजमा अन्य जघन्य आपराधिक घटना पनि बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा हिंसा भड्किँदा २६ कारागार तथा बन्दीगृहबाट १४ हजार ४३ कैदीबन्दी भागेकामा अझै ७ हजारभन्दा बढी फरार छन् ।
जेनजी आन्दोलनपछि आफूहरूका १ हजार २ सयभन्दा बढी हतियार र करिब १ लाख राउन्ड गोली, रबर गोली १ हजार ३ सय १५ राउन्ड, ब्ल्यांक राउन्ड २ हजार २ सय २०, अश्रुग्याँस सेल ३ हजार २ सय २३ अभिलेखमा नभेटिएको, ठूलो संख्यामा कैदीबन्दी भागेकाले अहिले २०६२/६३ को राजनीतिक परिवर्तनसँगै देशका विभिन्न भागमा उदय भएको सशस्त्र समूहको जस्तै पुनरावृत्ति हुन सक्ने जोखिम पनि बढेको छ । यस्तै,
यही सिलसिलामा २४ भदौमा भड्किएको हिंसात्मक प्रदर्शनबाट मुलुकको सुरक्षा स्थिति कठिन मोडमा पुगेको नेपाल प्रहरीले निष्कर्ष निकालेको छ ।
प्रहरीले तयार पारेको आन्तरिक प्रतिवेदनमा प्रदर्शनपछिको विध्वंससँगै सुरक्षाकर्मीहरू ‘मानसिक रूपमा विक्षिप्त’ र ‘मनोबल खस्किएको’ अवस्थामा पुगेको निष्कर्ष निकालिएको छ । प्रतिवेदनको सार गृहमन्त्री ओमप्रकाश अर्याललाई जानकारी गराइसकेको भएपनि प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।
जेन–जी आन्दोलनपछिको हिंसा र आगजनीमा देशभर प्रहरीका १ सय ९७ पूर्ण र २ सय ५८ संरचनामा आंशिक क्षति पुगेको छ । साथै सयौँ सवारीसाधन र ठूलो धनराशि खर्चेर किनिएका सञ्चार सेट/उपकरण पनि लुटपाट र आगजनीमा परेका छन् ।
प्रहरी विवरणअनुसार आगजनी गरिएका प्रहरीका सवारीसाधन ५ सय २५, लुटपाट तथा आगजनी भएका सञ्चार सेटतर्फ एचएफ सेट १, मोबाइल सेट ६४, ह्यान्डहेल्ड सेट ४५१, रिपी सेट १, बेस सेट ४७, चार्जर १ हजार ५३, ब्याट्री २ हजार ३ सय ५३, ह्यान्डहेल्ड मेटल डिटेक्टर २५ थान, वाक थ्रु गेट १५, एक्सरे ब्यागेज स्क्यानर ३ थान, सीसीटीभी मनिटर ११७, सीसीटीभी (भीएमएस/एनभीआर/डीभीआर) १०५, सीसीटीभी १३ सय ५५ वटामा लुटपाट/क्षति भएको छ ।
‘जलेका र क्षतिग्रस्त भएका ब्यारेक, कार्यालय, लत्ताकपडा तथा सवारीसाधनका कारण मानसिक रूपमा विक्षिप्त भएका प्रहरी कर्मचारीहरू मनोबल खस्किएको अवस्था रहेकाले शान्तिसुरक्षा कायम गर्न कठिन भइरहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।
जेन–जी विद्रोहकै क्रममा प्रदर्शनकारीको कुटाइबाट ३ प्रहरी मारिएका थिए ।
‘आन्दोलनपश्चात् उत्पन्न भएका र वृद्धि हुन सक्ने सुरक्षा चुनौतीहरू’ शीर्षकअन्तर्गत प्रहरीले चुनौतीहरूलाई उठान गरेको छ । जेन–जीभित्रका असन्तुष्ट पक्षबीच आन्तरिक द्वन्द्व, साइबर अपराधसँगै सामाजिक सञ्जालमा मिस इन्फरमेसन, डिस इन्फरमेसन वृद्धि हुन सक्ने, विभिन्न माध्यमबाट गलत सूचना तथा अफवाह फैलाउने गतिविधि, स्वार्थ प्रेरित शक्तिहरूको चलखेल बढ्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विभिन्न बहानामा पुराना राजनीतिक दलहरू, समर्थक/भ्रातृसंगठन, विद्यार्थी संगठनहरूको विरोध प्रदर्शनका कारण दोहोरो झडप तथा मुठभेडको अवस्था आउन सक्ने पनि प्रतिवेदनमा औँल्याइएको छ ।
सरकारले २३ भदौको जेन–जी आन्दोलन र भोलिपल्ट प्रदर्शन भड्किएपछि उत्पन्न हिंसात्मक गतिविधिको न्यायिक जाँचबुझ गरी दोषीलाई कारबाही सिफारिस गर्ने गरी पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरिसकेको छ । तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी आयोग गठन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया