काठमाडौं । सिराहामा तीन दिनदेखि अपहरणमा परी आज मंगलबार बिहान ६ बजे शव फेला परेका बालकको फिरौतीका लागि ५ करोड रुपैयाँ माग गरिएको खुलेको छ । अपहरणकारीले फिरौतीका लागि बिहीबार (२५ सेप्टेम्बर) सम्मको समय दिएको भएपनि उनको हत्या भइसकेको छ ।
सिराहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका सञ्जय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंह आइतबार रातिदेखि बेपत्ता भएका थिए । बेपत्तालगत्तै उनको खोजी तीव्र पारिएका बेला सोमबार बिहान ८ बजे अपहरणकारीले बालककै मोबाइल (इमो) बाट उनकी आमालाई म्यासेज पठाएर फिरौती माग गरेका थिए । अभिषेककै इमोबाट आमाको इमोमा म्यासेज आएपछि मात्रै परिवारजनले अभिषेक अपहरणमा परेको थाहा पाएका थिए । यसलगत्तै परिवारजनले प्रहरीलाई गुहारेका थिए । त्यसपछि परिवार र प्रहरीले संयुक्त रूपमा अभिषेकको खोजी गरिरहेकै बेला उनी मृत भेटिएका हुन् ।
हिन्दी भाषामा पठाइएको म्यासेजमा भनिएको छ, ‘तुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोसिस कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जानकारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सही सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।’
उनको शव आज बिहान गाउँकै एक आँप बगैँचामा फेला परेको थियो ।
बालकको अपहरण पश्चात् हत्या भएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ ।
बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले तालिमप्राप्त कुकुरसहितको टोली मगाएर घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया