पर्यटन क्षेत्र सुधार्न ‘रिकभरी प्लान’ आवश्यक : टान अध्यक्ष पाण्डे

लोकपथ
63
Shares

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले निजी क्षेत्र आफैँ पनि सच्चिनुपर्ने अवस्था आएको बताएका छन् ।

केही दिनअघि भएको जेनजी आन्दोलन केवल सरकारी संयन्त्र लक्षित नभई निजी क्षेत्रप्रति पनि चेतावनी स्वरूप आएको भन्दै उनले यस क्षेत्रले समेत आत्म सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

नाफिजले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले जेनजी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई सबभन्दा पहिले सक्रिय बनाउनुपर्ने बताए । उनले सरकारलाई पर्यटन क्षेत्रको रिकभरीका लागि प्रभावकारी योजना ल्याउन आग्रह गर्दै तीन महिनाका लागि पर्यटकलाई भिसा फ्रि गर्नुपर्ने प्रस्ताव पनि राखे ।

उनका अनुसार आन्दोलनका क्रममा क्षति पुगेका संरचनामात्र होइन, क्षति नभएका संरचना पनि निरुत्साहित भएर पीडामा छन् । राज्यका संयन्त्रले प्रभावकारी ढंगले काम गर्न नसक्दा आर्थिक गतिविधि समेत अवरुद्ध भएको उनले बताए ।

सरकारी संयन्त्रमा रहेको व्यापक भ्रष्टाचार अहिले निजी क्षेत्रमा समेत फैलिएको दाबी गर्दै उनले आर्थिक कारोबारमा पारदर्शिता अनिवार्य हुनेमा जोड दिए । ‘करप्सनका विरुद्ध भएको आन्दोलनले निजी क्षेत्रको नेक्सस कति छ भन्ने समाजले प्रश्न गरेको छ । त्यसैले हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ,‘उनले भने ।

पर्यटन क्षेत्रमा गुणस्तरीय श्रमको कदर हुन नसकेको भन्दै अध्यक्ष पाण्डेले बीएचएम गरेका युवालाई १७ हजार तलबमा काममा लगाउने प्रवृत्तिले देशभित्र युवालाई टिक्न नदिने चेतावनी दिए ।

उनले बहुदल आएपछि नेपालको पर्यटन क्षेत्र ‘कुपोषण लागेको बच्चा’ जस्तै भएको टिप्पणी गर्दै पछिल्लो तथ्यांकले देखाएको वृद्धिदर असन्तोषजनक रहेको बताए । सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक भित्रिएको नेपालमा हाल आएर ११ लाख ५० हजार मात्र पुगेको स्मरण गर्दै उनले हरेक वर्ष करिब २५ हजार मात्र वृद्धिदर हुनु निराशाजनक भएको बताए ।

नेपालभन्दा कम पर्यटकीय सम्भावना भएका मुलुकले समेत धेरै पर्यटक भित्र्याउन सफल भएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले राज्य र निजी क्षेत्र दुवै मिलेर सुधार नगरेसम्म पर्यटन क्षेत्र उठ्न नसक्ने निष्कर्ष प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?