काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारीसाधनको बिक्री बढाउन ऋण नीतिमा तत्काल परिवर्तन गर्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’ विषयक कार्यक्रममा बोल्दै उनले दसैँ, तिहारलगायतका चाडपर्वमा गाडी व्यापार उच्च हुने भए पनि हालको नीतिका कारण बजार प्रभावित भएको बताए ।
हाल राष्ट्र बैंकले गाडी खरिदका लागि ६० प्रतिशतसम्म मात्र ऋण दिनसक्ने व्यवस्था गरेको छ । यसअघि विद्युतीय गाडीमा ८० प्रतिशत र पेट्रोल–डिजेलमा चल्ने गाडीमा ५० प्रतिशत ऋण लिन सकिने व्यवस्था थियो । अटो व्यवसायीहरूले यो पुनः ८० प्रतिशत पुर्याउनुपर्ने माग गर्दै आएका छन् ।
अध्यक्ष चौधरीले भने, ‘आन्दोलनको जगमा बनेको सरकारले ६ महिनामा निर्वाचन गर्ने तयारी गरेको छ । अहिलेको सबैभन्दा ठुलो चुनौती राजस्व संकलन हो । अटो क्षेत्रले सधैँ राजस्वमा ठुलो योगदान गर्दै आएको छ तर आन्दोलनका कारण बजार मन्दीमा छ । दसैँमा कुल अटो बजारको करिब ६० प्रतिशत बिक्री हुने गर्दथ्यो, तर अहिले ग्राहकहरू आफ्ना अनिवार्य खर्चमै केन्द्रित हुने अवस्था आएको छ ।’
उनले विद्युतीय सवारीसाधन (ईभी) को संख्या बढ्दै गएकाले व्यवसायीहरूले चार्जिङ स्टेसन स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणबाट ट्रान्सफर्मरको सुविधा पाउनुपर्ने माग पनि गरे ।
चौधरीका अनुसार अटो हब मानिने थापाथली क्षेत्र आन्दोलनका कारण पूर्ण रूपमा प्रभावित भएको छ भने उत्तरी नाकाबाट गाडी आयातसमेत अवरुद्ध भएको छ ।
नेपालमा दुईपांग्रे तथा चारपांग्रे क्षेत्रमा ठुलो लगानी भइरहेको बताउँदै उनले ब्याट्री, टायर र केही स्पेयर पार्ट्स उत्पादन भइसकेको जानकारी दिए । एसेम्बल उद्योगले रोजगारी सिर्जना गरिरहेको भन्दै उनले घरेलु उत्पादनलाई एसेम्बल उद्योगसँग जोड्ने नीति बनाउन सरकारसँग आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया