काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुले मन्त्रीको जिम्मेवारी पाएका छन् ।
खास निर्वाचन गराउने म्याण्डेटसहित प्रधानमन्त्री बनेकी कार्कीले सम्बन्धित क्षेत्रमा दक्षता राख्ने व्यक्तिहरुलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।
त्यसमध्ये एक हुन् राष्ट्रिय आविस्कार केन्द्रका सञ्चालक नेपाली वैज्ञानिक महावीर पुन । नेपालमा नवप्रवर्तन र सञ्चार प्रविधिको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका पुन चर्चित र आशा गरिएकामध्ये पर्छन् । आविस्कार केन्द्रलाई थप विस्तार गराउन आफ्नै किताब बेच्दै देशका कुनाकाप्चा घुमिरहेका महावीरलाई एकाएक मन्त्री बन्ने अवसर मिल्यो । प्रायः चप्पल र ट्र्याकमा नै देखिने महावीरको जीवनशैली विन्दास देखिन्छ । उनी सामाजिक सञ्जालमा समेत आफ्नै मौलिक शैलीका कारण चर्चामा रहने गरेका थिए ।
मन्त्री बनेर शपथग्रहण गरेपछि सञ्चारकर्मीको चासो महावीरको योजनाबारे थियो । शीतल निवासमा शपथग्रहणपछि सञ्चारकर्मीलाई थोरबहुत प्रतिक्रिया दिएर सिंहदरबार पदभार ग्रहण गर्न पुगेका महावीर आफ्नै मौलिक शैलीकै विन्दासमा देखिए । न उनले ठूला योजना सुनाए, न त रवाफ नै, उनले आफ्नै शैलीमा नजानेको कुरामा अनविज्ञता देखाए ।
महावीरको चर्चा भएको विषय भने उनको आवासको विषय बनेको छ । मन्त्री नियुक्त भइसकेपछि मन्त्रीहरु सरकारी निवासतिर जान्छन् । तर महावीर भने आफू मन्त्रालयमा नै बस्ने, बरु आफूलाई सुत्ने खाट र किचेनको व्यवस्था गर्न आग्रह गरे ।
उनीमाथि सञ्चारकर्मीहरुले विभिन्न प्रश्नहरु गरिरहेका थिए । तर उनले हाँसीमजाकमा जवाफ दिइरहेका थिए । सोही क्रममा सञ्चारकर्मीहरुले अहिले सरकारी क्वाटर पनि छैन, कहाँ बस्नु हुन्छ ? भन्ने गरे ।
‘मेरो त जहाँ काम गर्यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफै.ँ पकाएर खान्छु,’ महावीरले भने ।
त्यति मात्र नभइ उनले आफूलाई सुरक्षा पनि नचाहिने बताएका छन् ।
‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिसको र एउटा आर्मीको रहेछ । मैले भाइहरुलाई भनेको छु । रिपोर्ट गर्नु कमाण्डरहरुलाई । म यो मन्त्रालयमा छँदा यहीँ बसौँ । यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन,’ उनले भनेका छन् ।
त्यस्तै उनले आफूले कुनै योजनाहरु नसुनाए पनि भोलिका दिनमा विज्ञहरुसँग सल्लाह गरेर काम गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया