दसैँ मनाउन पाँच दिनमै एक लाख ८९ हजारभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए

लोकपथ
217
Shares

काठमाडौं ।  मुलुकको संघीय राजधानी काठमाडौंबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् ।

कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २  गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बर्सातका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताए ।

 पछिल्ला दिनमा काठमाडौं गोंगबुस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कमा समेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लका अनुसार अन्य समयको तुलनामा अहिले बसपार्कबाट बाहिरिनेको सङ्ख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?