स्वास्थ्यमन्त्रीमा सिफारिस डा. मिश्राको नाम फिर्ता लिने मनस्थितिमा प्रधानमन्त्री कार्की, अन्यको शपथ आज २ बजे

लोकपथ
5.6k
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रीमा सिफारिस डा. संगीता कौशल मिश्राविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा छानबिन गरिरहेको थाहा पाएसँगै प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस फिर्ता लिने मनस्थिति बनाएकी छिन् । 

प्रधानमन्त्री कार्कीले आइतबार उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री सिफारिस गर्दै उनको नामसहित पाँच जनाको नाम मन्त्रीका लागि राष्ट्रपति कार्यालयसमक्ष पठाएकी थिइन् । उनी मन्त्रीमा सिफारिस भएको चर्चा चलेपछि अख्तियारले उनीविरूद्धको अनुसन्धान सकिन लागेको र केही समयमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जानकारी प्रधानमन्त्री कार्यालयलाई गराएको स्रोतको  दाबी छ । त्यसैले प्रधानमन्त्री कार्की मिश्राको नाम पुनर्विचार गर्ने मनस्थितिमा पुगेकी हुन् । 

‘प्रधानमन्त्री उहाँको नाम पुनर्विचार गर्नेपक्षमा हुनुहुन्छ, मन्त्री नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा गइसकेको उहाँको नाम आज कार्यालय खुलेपछि फिर्ता हुने सम्भावना छ,’ स्रोतको भनाइ छ ।    

प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियारको नाम हिजो आइतबार राष्ट्रपति कार्यालयमा पठाएकी थिइन् । डा. मिश्राले हिजो नै अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिएकी थिइन् ।

उता, मन्त्रीहरूको शपथ ग्रहण दिउँसो २ बजे गर्ने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?