जलेश्वर कारागारबाट भागेका कैदीमध्ये २३३ जना फर्किए

लोकपथ
84
Shares

महोत्तरी । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ जना फर्किएका छन् ।

कारागारबाट भागेका पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय ४३ जना अझै फर्किएका छैनन् ।

संघीय राजधानी काठमाडौंसहित देशभरि जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मंगलबार राति करिब ७ बजे जलेश्वर कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै पाँच सय ७६ जना कैदी फरार भएका कारागारका जेलर अशोक क्षेत्रीले जानकारी दिए । उनका अनुसार आज बिहानसम्म दुई सय ३३ जना कैदीबन्दी फर्केर आएका छन् ।

कैदीबन्दी फरार भएको भोलिपल्टै भदौ २५ गत कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि आज बिहानसम्म दुई सय ३३ जना आइसकेका जनाउँदै अझै आउने क्रम पनि जारी रहेको क्षेत्रीले बताए । जलेश्वर कारागारबाट भागेकामध्ये १२ जना कैदीबन्दीलाई भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका उनको भनाइ छ ।

बाँकी कैदीबन्दी आफैँ कारागारमा फर्किएका हुन् । जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मंगलबार राति करिब ५ सयको सङ्ख्यामा आएका प्रदर्शनकारीले आफूलाई जेनजी भन्दै कारागार कार्यालयका तीन तहका ढोका फुटाएर सबै कैदीबन्दीलाई भगाएका जेलर क्षेत्रीले जानकारी दिए ।

जेनजीको प्रदर्शनको आडमा जलेश्वर कारागारबाट भागेका र अझै पनि नआएका तीन सय ४३ कैदीबन्दीलाई जिल्लाको तीनै तहका सुरक्षाकर्मी परिचालन गरी खोजीकार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?