काठमाडौं । भदौ २३ र २४ गते विभिन्न माग राखेर जेनजी समूहले आन्दोलन गर्यो । भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भदौ २३ गते जेनजीले गरेको आन्दोलनमा सरकारले बल प्रयोग भएपछि भोलिपल्ट २४ गते देशभर आन्दोलन उग्र बन्यो ।
वर्तमान प्रतिनिधि सभा नै विघटन भएर अहिले अन्तरिम सरकार गठन भएको एक साता बितिसक्दा जेनजी समूहमा फाटो देखिएको छ । अझै खास जेनजी को हो ? भन्दै अहिले बहस भइरहेको छ । जेनजीका विभिन्न समूहरुले वर्तमान परिस्थितिमा सरकार समक्ष आ–आफ्नै माग राखिरहेका छन् । जसमा राजनीतिक दलमा आवद्ध युवाहरुले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै आक्रोश पैदा भइरहेको छ ।
आइतबार आफ्ना विभिन्न मागहरु राखेर जेनजी आन्दोलनमा घाइते भएकाहरु सिंहदरबार पुगे । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका घाइतेहरुलाई प्रहरीले सिंहदरबारको मुल गेटमा नै रोकेपछि भने त्यहीँ केहीबेर धर्ना दिएका जेनजीको एक समूहले आक्रोश व्यक्त गरे । सुरक्षाकर्मीहरुले आवश्यक समन्वयपछि सिंहदरबारमा प्रवेश दिएपछि गृहमन्त्रालय पुगेका उनीहरुले नाराबाजी गरिरहेका छन् ।
आन्दोलनमा आफूहरुले गोली खाएको तर जेनजीको नाममा आन्दोलन नै हाइज्याक भएको भन्दै खबरदारी गरिरहेका छन् । उनीहरुले जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका सुदन गुरुङमाथि समेत नाराबाजी गरेका छन् ।
आफूहरु रियल जेनजी रहेको भन्दै पुगेको जेनजीको यो समूहले आफूहरु अझै आन्दोलन गर्न तयारी रहेको समेत चेतावनी दिएका छन् ।
घाइते भएका केही युवायुवतीहरु बैशाखी टेकेर त कोही हातखुट्टा, निधार, छाती आदीमा पट्टी बाँधेर समेत पुगेका थिए । त्यहाँ सहभागिमध्ये एक घाइते युवाले रियल जेनजीहरुको भ्वाइस थिचिएको दाबी गरे ।
‘म घाइतेको पनि रिप्रिजेन्टेटि भएर बोल्दैछु र जेनजीको पनि रिप्रिजेन्टिटिभ भएर बोल्दैछु । रियल जेनजीहरु डाउन भएका छन्, रियल जेनजीहरु हाइज्याक भएका छन् । रियल जेनजीहरुको भ्वाइनसलाई निचरिएको छ,’ ती युवाले भने ।
‘म र हामी सबै घाइतेहरुलाई निराशा लागेको कुरा, जेनजीको जो लिडर बनेर आइरहेका छन्, त्यो विदेशी संस्थामा बिकेर, विदेशी संस्थाको फण्डले ल्याएर, कुनै पार्टीमा संलग्न भए पनि दुईचार जना घाइतेहरुलाई संलग्न गराएर सबै घाइतेहरुको बोली बन्द गर्न सकियोस् भनेर आइरहेका छन् नि तिनीहरुले यो बुझ्नुपर्छ कि रियल जेनजीहरु हामी हौँ,’ ती युवाले भने ।
यता सडकमा समेत जेनजीको एक समूहले आफ्ना मागहरु पूरा गर्नका लागि दबाब सिर्जना गरिरहेका छन् । त्यसो त जेनजीको प्रतिनिधि बनेका सुदन भने शुक्रबार राष्ट्रपति कार्यालयमा समेत पुगेका थिए । उनले जेनजी आन्दोलनको सुरुवातबाटै ‘भोलुन्टियरिङ’ गरे पनि पछि भने आफू जेनजीको प्रतिनिधि भएको भन्दै समन्वय गरेका थिए । तर अन्य जेनजी समूहले भने सुदनले आन्दोलनलाई हाइज्याक गरेको आरोप लगाइरहेका छन् ।
यता प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई समेत जेनजीका छुट्टाछुट्टै समूहले छुट्टाछुट्टै मागहरु राखेर दबाब बढाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया