खाद्य कम्पनीले यस वर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने

लोकपथ
336
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने निर्णय गरेको छ । कम्पनीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा सडक अवरुद्ध अवस्थाका कारण आपूर्ति व्यवस्थित गर्न नसकिएको जनाएको छ ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार, देशको परिवर्तित राजनीतिक परिस्थितिले तयारीमा असहजता सिर्जना गरेको र खसी बोका तथा च्याङ्ग्रा लामो समय गाडीमा राख्दा मर्ने सम्भावना भएकाले यस वर्ष विक्री नगर्ने निर्णय गरिएको हो। उनी भन्छन्, ‘खसी बोका र च्याङ्ग्रालाई लामो समय स्टक राख्दा ठुलो नोक्सानी हुने र नकारात्मक सन्देश जाने खतरा हुन्छ ।’

खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अनुसार, कम्पनीले यसअघि वार्षिक कार्यक्रम अनुसार करिब १,५०० खसी बोका र ३०० च्याङ्ग्रा आपूर्ति गरी सुपथ मूल्यमा विक्री गर्ने तयारी गरेको थियो । यस वर्ष अनलाइन बुकिङ प्रणालीमार्फत पनि बिक्री गर्ने योजना बनाइएको थियो, तर जेनजी आन्दोलनका कारण सबै कार्यक्रम स्थगित गर्नुपरेको उनले बताए ।

यद्यपि, खाद्य कम्पनीले दसैँका लागि आवश्यक खाद्यान्न र अन्य सामग्री सुपथ पसलमार्फत विक्री वितरण सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?