बागलुङ । गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ–सिगाना–बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ ।
बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको ठुलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएको थियो । ठुला चट्टानसहितको पहिरो खस्दा सडक खुलाउन समय लागेको थियो । आजदेखि सडक सञ्चालनमा आएसँगै यात्रुहरू गन्तव्यतर्फ लागेका छन् ।
उक्त सडक ‘एक निर्वाचन क्षेत्र–एक सडक’ अन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको १० किलोमिटर कालोपत्र गरिएको थियो । सडक डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत निर्माण कम्पनी कर्ण विल्र्डसलाई कालोपत्रको जिम्मेवारी दिएको थियो ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार कार्यालय र निर्माण व्यवसायीको सहकार्यमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । उनले बताए अनुसार, पहिरोले पुरिएको गोठबाट मृत अवस्थामा भैँसी निकालिएको छ ।
खड्काका अनुसार क्षतिग्रस्त घरबाट सामग्री स्थानान्तरण गर्न नगरपालिकाले नगरप्रहरीको सहयोगमा डोजर प्रयोग गरेको थियो । सडक डिभिजन कार्यालयको सहकार्यमा लगातार पाँच दिन स्काभेटर प्रयोग गरी पहिरो पन्छाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया