जेनजी आन्दोलनले पर्यटन क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति

लोकपथ
56
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालका पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ । आन्दोलनका क्रममा होटल र केबलकारमा तोडफोड तथा आगजनी हुँदा अनुमानित २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण छ।

नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक साहका अनुसार, हिल्टन होटलसहित २४-२५ वटा होटलमा प्रत्यक्ष क्षति पुगेको छ। उनका अनुसार, अर्बौँ रुपैयाँको लगानी भएका संरचनामा क्षति हुँदा समग्र पर्यटन क्षेत्रमा नै ठूलो धक्का पुगेको छ।

अराजकता मच्चाउने र तोडफोड, आगजनीमा संलग्नमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ ।  

हिल्टन होटलसहित धेरै होटलहरुमा पर्यटकहरुले नेपाल आउनका लागि बुकिङ गरेको र संरचना नै ध्वस्त भएको जानकारीले उनीहरुमा नराम्रो सन्देश गएको साहले बताए । जेनजीहरुको एजेन्डामा आफूहरु समेत सहमत भए पनि अराजकता र आगजनी र तोडफोड ठिक नभएको उनको भनाइ छ । 

माओवादी जनआन्दोलन नेपालको सशस्त्र द्वन्द्व हो । जुन तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकारबिच वि.सं. २०५२ साल देखि २०६३ सम्म चलेको थियो ।

युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो । उक्त विद्रोहको परिणामस्वरूप नागरिक, विद्रोही, सेना र प्रहरी लगायतका १७ हजार भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो । अधिकांश रूपमा हजारौँ ग्रामीण भूभागका मानिसहरूको आन्तरिक विस्थापन भएको थियो । 

विध्वंसकारी द्वन्द्वमा पर्यटन क्षेत्र प्रभावित भए पनि विद्रोही माओवादी र सरकारी पक्षले होटलहरुमाथि आक्रमण भने गरेका थिएनन् । तर सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई लिएर जेनजी आन्दोलन भयो । माओवादी द्वन्द्व कारणमा पनि क्षति नपुगेको होटल क्षेत्रमा जेनजी आन्दोलनका क्रममा अर्बौँको क्षति पुगेको छ । 

आखिर होटल, केबलकारमाथि कसले किन आक्रमण गर्‍यो भन्ने यकिन नभए पनि यसबाट पर्यटन क्षेत्रमा ठूलो असर परेको जानकारहरु बताउँछन् ।

विभिन्न मागहरु राख्दै यसअघि हुने आन्दोलनहरुले यो क्षेत्र मात्रै यति धेरै क्षति नहुने गरे पनि यसपटक भने प्रत्यक्ष रुपमा होटलहरुमा अर्बौँको क्षति हुँदा अन्तर्राष्ट्रिय जगतमै राम्रो सन्देश नगएको नेपाल होटल संघ (हान) को बुझाइ रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?