काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीभित्र सुरु गरिएको नेतृत्व परिवर्तनको बहसप्रति असन्तोष व्यक्त गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनपछि कांग्रेसभित्र उठाइएको विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने प्रस्ताव असामयिक भएको बताए । हाल कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माले तत्काल नेतृत्व परिवर्तनको माग गर्दै आएका छन् ।
महतले भने, ‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा पर्खन पनि सक्दैनौँ र ? आकाश नै झरिहाल्छ र ? अवश्य पनि पार्टीका संरचना, घटना मूल्याङ्कन र सुधारबारे छलफल हुन्छ, तर त्यसका लागि पर्खिन सक्नुपर्छ ।’
उनले पार्टी कार्यसम्पादन समितिबाट आधिकारिक निर्णय भइसकेको अवस्थामा बाहिरबाट नेतृत्वसम्बन्धी बहस थाल्नु गलत प्रवृत्ति भएको बताए । ‘त्यसले पार्टीलाई राम्रो गर्दैन, ‘महतको भनाइ छ ।
महतले अहिलेको प्राथमिकता आन्तरिक एकता मजबुत बनाउने, कमजोरी सच्याउने र अभिभावकमाथि भएको प्रहारपछि पार्टीलाई बलियो बनाउनुपर्ने बताए । उनले चार दिन अघिसम्म सभापतिप्रति निकट रहेका केही नेताहरूले तत्काल नेतृत्व परिवर्तनको माग गर्नु विरोधाभाषपूर्ण भएको टिप्पणी गरे ।
‘नयाँ परिस्थिति बनेको छ, अवश्य पनि गम्भीर छलफल हुन्छ, मूल्याङ्कन हुन्छ, सुधार पनि हुन्छ । तर उपचारको बेला घाउमा नुन छर्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउन सक्दैन, ‘महतले चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया