काठमाडौं-ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

लोकपथ
224
Shares

काठमाडौं ।  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गर्ने भएको छ । यो पहिलोपटक काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं मार्गमा राष्ट्रिय ध्वजावाहकले उडान भर्न लागिरहेको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार आवश्यक सबै प्राविधिक तयारी पूरा भइसकेको छ र उडान अनुमति पनि प्राप्त भएको छ। प्रारम्भिक चरणमा असोज ९, १२, ३० र कात्तिक २ तथा ६ गते उडान हुनेछन् । त्यसपछि प्रत्येक आइतबार, मंगलबार र शनिबार नियमित उडान भर्ने तालिका तय गरिएको छ ।

भाडादर एकतर्फी ३० हजार रुपैयाँ र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको छ । अध्यक्ष अधिकारीले लामो प्रयासपछि चीनको महत्त्वपूर्ण सहरमा उडान विस्तार गर्न सफल भएको बताए । निकट भविष्यमै दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी भइरहेको निगमले जानकारी दिएको छ ।

हाल ग्वाञ्जाओ मार्गमा चीनको चाइना साउदर्न र नेपालतर्फबाट हिमालय एयरलाइन्सले सेवा दिइरहेका छन् । नेपालीको ठूलो उपस्थिति रहेको यस मार्गमा निगमलाई आर्थिक लाभ हुने अपेक्षा गरिएको छ ।

ग्वाञ्जाओ उडान थपिएसँगै नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्य ९ देशका ११ वटा पुगेका छन् । अहिले निगमका दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत दोहा, क्वालालम्पुर, दुबई, हङकङ, दिल्ली, मुम्बई, बैङ्गलुरु, बैंकक, दमाम र टोकियो (नारिता)मा उडान भइरहेको छ।

राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडानले मुलुकको पहिचान, कूटनीतिक सम्बन्ध विस्तार र विदेशी पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेलेको निगमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?