स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैन : अध्यक्ष बराल

लोकपथ
455
Shares

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनले जेनजी आन्दोलनको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ । 

एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार प्रारम्भिक निरीक्षणले सो मन्त्रालयको भवन तत्काल प्रयोग गर्न असम्भव रहेको देखाएको छ ।

शनिबार मन्त्रालय परिसरमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै अध्यक्ष बरालले भने, ‘सर्वोच्च अदालतको उत्तरतिरको भाग काममा ल्याउन असुरक्षित छ, दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा छ ।’

उनले थपे, ‘स्वास्थ्य मन्त्रालयको भवनको वालमा ठूलो क्षति नभए पनि अन्य भागमा पूर्ण रूपमा क्षति पुगेको छ । यसकारण हालको अवस्थामा यसलाई प्रयोग गर्नु अत्यन्त जोखिमपूर्ण छ । सर्वोच्च अदालतको भवन पनि उत्तरी भाग बढी जोखिमयुक्त छ भने दक्षिणी भागमा काम गर्न सहज हुन्छ ।’

बरालले सिंहदरवारजस्ता अन्य सरकारी भवनको निरीक्षणमा पनि केही ठाउँमा बढी क्षति भए पनि अधिकांश भागमा क्षति नभएको जानकारी दिएका छन् । लामो समय आगो लागेको ठाउँमा बढी क्षति भएको उनले बताए ।

नेपाल इन्जिनियर्स एशोसिएशनले सरकारसँगको समन्वयमा जेनजी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका सरकारी तथा निजी भवनको निरीक्षण र क्षति मूल्यांकनको काम तीव्र रूपमा अगाडि बढाएको छ । अध्यक्ष बरालका अनुसार सातवटै प्रदेश कार्यालयबाट निरन्तर निरीक्षण कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?