काठमाडौं । जेनजी आन्दोलनका घाइते परिवारका सदस्य सरस्वती रावलले आन्दोलनका बलिदानीलाई सरकारले सम्बोधन गर्नुपर्ने बताएकी छन् । काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले बलिदानी खेर जाने अवस्था आए आफू फेरि गोली खान तयार रहेको स्पष्ट पारिन् ।
सरस्वती रावलले जेनजी आन्दोलन परिवर्तनका लागि सुशासन र भ्रष्टाचारको विरुद्धमा सुरु भएको बताइन् । आन्दोलनमा हजारौँको संख्यामा घाइते र धेरैको मृत्यु भएको स्मरण गराउँदै उनले मृतक परिवारको व्यवस्थापन, घाइतेको जीविकोपार्जन, उपचारको ग्यारेन्टी र सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले आफू १० वर्षे जनयुद्धका सहभागी रहेको र जनयुद्धका समयमा तीन वर्ष जेल बस्नुपरेको अनुभव पनि साझा गर्दै भनिन्, ‘यदि यो बलिदानी खेर जाने अवस्था आयो भने म फेरि गोली खान तयार छु । हामी अभिभावकको तर्फबाट यो आन्दोलनलाई पछाडि हट्न दिँदैनौँ ।’
यसैगरी, घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले भाइको सिभिल अस्पतालमा उपचार भइरहेको बताइन् र सरकारलाई घाइतेको दीर्घकालीन उपचारको व्यवस्था गर्न आग्रह गरिन् ।
जेनजी आन्दोलनका सहभागी सुप्रिया परियार, घाइते गोकर्ण विष्ट, सुरेश ऐरीले आन्दोलनका माग पुरा गर्नुपर्ने बताए । उनीहरूले देशमै रोजगारी सिर्जना, उच्चपदस्थ व्यक्ति तथा कर्मचारीमाथि छानबिन र कारबाही, आन्दोलनमा गोली चलाउन आदेश दिनेहरूलाई कारबाही र प्रत्यक्ष कार्यकारी निर्वाचित प्रमुखको व्यवस्था आवश्यक रहेको जोड दिए ।
सरस्वती रावलले जेनजी आन्दोलनका विभिन्न समूहलाई एक जुट हुन पनि आह्वान गरिन् र भनिन्, ‘जेनजीको नाममा अवसर लिइरहेका व्यक्तिहरूलाई अलग राख्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया