जेनजी आन्दोलन : बागमती प्रदेश सभाको ३५ करोड बराबरको क्षति

लोकपथ
133
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा हेटौँडास्थित बागमती प्रदेश सभा भवनमा भएको आगजनी र तोडफोडका कारण भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ ।

हालै मात्र उद्घाटन गरिएको अस्थायी भवनसहित पुरानो भवनलाई पनि प्रदर्शनकारीले निशाना बनाएपछि करिब ३० देखि ३५ करोड बराबरको क्षति भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार आन्दोलनका क्रममा पाँच वटा भवन, तीन वटा चार पाङ्ग्रे गाडी, छ वटा मोटरसाइकल र कार्यालयका अधिकांश सामग्रीमा क्षति पुगेको छ । भवनका ढोका, झ्याल, बैठक कक्ष, अभिलेख कोठा लगायतका महत्त्वपूर्ण संरचना ध्वस्त भएका छन् भने विभिन्न दलका संसदीय दलका कार्यालयमध्ये कांग्रेस बाहेक अन्य दलका कक्षमा समेत आगजनी र तोडफोड भएको छ ।

१२ करोड २९ लाख लागतमा बनेको नयाँ भवन गत साउन २७ गते मात्र औपचारिक रूपमा उद्घाटन गरिएको थियो । करिब सात वर्षमा सम्पन्न भएको यो भवनमा जम्मा तीन वटा बैठक सम्पन्न हुन पाएका थिए । तर आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीले आगजनी गरेपछि भवन पूर्ण रूपमा ध्वस्त भएको हो ।

भवन क्षतिग्रस्त भएपछि प्रदेश सभा बैठक सञ्चालन गर्ने स्थानको अभाव भएको सचिवालयले जनाएको छ । हालका लागि सभा सञ्चालन गर्न प्रदेशसभा भवन परिसरमै पार्किङका लागि प्रयोग हुँदै आएको जस्ताको टहरोलाई अस्थायी बैठक स्थल बनाउने तयारी भइरहेको छ ।

प्रवक्ता गुप्ताका अनुसार क्षतिग्रस्त भवनको सूक्ष्म प्राविधिक अध्ययन भइरहेको छ र इन्जिनियरको प्रतिवेदनपछि मात्र मर्मत वा पुनर्निर्माण अघि बढाइनेछ । तर तत्काल बजेट अभाव भएकाले पुनर्निर्माणमा समय लाग्ने स्पष्ट पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?